ट्रेन्डिङ

माओवादी केन्द्र र नेसपाबीच महाधिवेशनमा एकता गर्ने सहमति

वीरगन्ज । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादव नेतृत्वको समूह र नेकपा (माओवादी केन्द्र)बीच पार्टीको आगामी महाधिवेशनमा एकता गर्ने समझदारी भएको छ।

नेसपाबाट सहअध्यक्ष गंगानारायण समूह माओवादीमा समाहित भएपछि यादवले असार ७ गते पार्टी पुनर्गठन गरेका थिए।

पुनर्गठित पार्टीको केन्द्रीय समितिको निर्णयसहित केही दिनअघि अध्यक्ष यादवले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्ता गरी पार्टी एकताका लागि सहमति जुटाएका हुन्।

छलफलका क्रममा अध्यक्ष यादवले आफू पार्टी एकताका लागि पूर्ण रूपमा सकारात्मक रहेको बताउँदै पार्टीको नाम, झन्डा, ब्यानर लगायतका विषयहरू छिट्टै टुंगो लगाउन आग्रह गरेका थिए। प्रचण्डसँगको कुराकानीमा माओवादीको महाधिवेशनसँगै एकताको विषय टुङ्ग्याउने समझदारी भएको यादवले जानकारी दिए।

यादवले भने, ‘हामी एकताका लागि तयारै छौँ। सिङ्गै पार्टी एकता गरौँ भनेर जोड दिएको हो। एकताको विषयमा पहिला बाबुरामजीले प्रचण्डजीसँग सहमति गर्नुभयो, तर बिचैमा छाडेर भाग्नुभयो। पछि सहअध्यक्ष गंगानारायणजी पनि सहमतिमै माओवादीमा जानुभयो। केन्द्रीय समिति बैठकले पार्टी पुनर्गठन गर्यो। बैठकको निर्णयसहित केही दिनअघि सिंहदरबारमा एकताबारे छलफल भयो। हामीले महाधिवेशनसँगै एकता टुङ्ग्याऊँ भनेका छौँ। यस सम्बन्धमा उहाँ पनि सकारात्मक देखिनुहुन्छ।’

अध्यक्ष यादवले पार्टीको नाम जे राखे पनि महाधिवेशनको निर्णय आफूहरूलाई मान्य हुने बताएका छन्। जवाफमा प्रचण्डले पार्टीको जागरण अभियान सम्पन्न भएलगत्तै केन्द्रीय समिति बैठक बस्ने र त्यसले महाधिवेशनको मिति तय गर्ने जानकारी गराएको यादवले बताए। यस समझदारी अनुसार, नेसपाले हाललाई राष्ट्रिय भेला वा महाधिवेशन नगरी संगठन विस्तारमा मात्रै केन्द्रित हुने यादवले स्पष्ट पारे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै