वीरगन्ज । वीरगन्जमा पानीको हाहाकार मच्चिएको छ । बढ्दो गर्मीसॅंगै पानीको मुहान सुक्न गइ यहाँ पानीको हाहाकार मच्चिएको हो ।
भू–जलको सतह लगातार घट्दो क्रममा रहेको र चापाकलहरू सुक्न थालेपछि पानीको समस्याले बिकराल रुप लिएको छ । यस्तै दैनिक उपभोगका लागि पानी जुटाउन नगरबासीलाई हम्मेहम्मे परेको छ ।
वीरगन्जबासीको यिनै पीडा बुझ्न र तत्काल राहत दिन महानगर प्रमुख राजेशमान सिंह आफैं ट्यांकी र ट्यांकरसहित विभिन्न बस्तीमा पुग्न थालेका छन् ।
मंगलबार साँझ मेयर सिंह वडा नं. ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाट लगायतका प्रभावित टोलमा टंकी र ट्यांकर लिएर गए ।

उनी भन्छन्, ‘वीरगन्जबासीलाई पानीको अभावमा राखिन्न, जहाँ समस्या छ, त्यहाँ तत्काल समाधानको प्रयास गर्नेछौँ ।’ पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रुपमा पानी पुर्याउने गरि संयन्त्र परिचालन गरिएको पनि उनको भनाइ छ ।
महानगरपालिकाले संकटग्रस्त स्थानहरूमा १० हजार, ५ हजार र २ हजार लिटर क्षमताका ट्यांकीहरू राखेर पानीको समस्या समाधान गर्ने प्रयास गरेको छ । ती ट्यांकीहरूमा नियमित पानी भरेर आपूर्ति गर्न ५ वटा ट्यांकर र ३ वटा दमकल परिचालन गरिएका छन् । यो व्यवस्था आजैदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको महानगर प्रमुख सिंहले जानकारी दिए ।
प्रत्येक वडामा स्थानीय प्रतिनिधि, कर्मचारी र स्वयंसेवकमार्फत पानीको तालिकाबद्ध वितरण सुरु गरिएको छ ।
पानीको संकटसँगै महानगरले दीर्घकालीन समाधानतर्फ पनि ध्यान दिएको जनाएको छ । भू–जल पुनर्भरण, वर्षा पानी संकलन, सार्वजनिक भण्डारण ट्यांकी निर्माण र वैकल्पिक जल स्रोतको पहिचानका लागि योजनागत काम अगाडि बढाइएको छ ।
मेयर सिंहले भने, ‘तत्काल राहत मात्र होइन, दीर्घकालीन समाधानको खाका तयार पार्दैछौं।’
वीरगन्जको पानी संकट अहिले सबैको साझा चिन्ता बनेको छ । यस्तो विषम परिस्थितिमा स्थानीय सरकारको सक्रियता, जनताको संयमता र सहकार्य नै समस्याको समाधानतर्फको मार्ग हो भन्ने कुरा प्रष्ट देखिन थालेको छ ।