ट्रेन्डिङ

धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी पुनः कारागार चलान

वीरुगन्ज । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएका युनुस अन्सारी १५ लाख रुपैयाँ धरौटीमा छुट्ने आदेश आए पनि धरौटी नबुझाएपछि पुनः केन्द्रीय कारागार सुन्धारा चलान भएका छन्।

सोमबार दिउँसो २ बजेतिरै थुनछेक बहस सकिएपछि अदालतले १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए पनि अन्सारीले धरौटी नबुझाउने सूचना दिएका थिए। यसपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाउने कागजात तयार भयो ।

अन्सारीमाथि पाकिस्तानमा रहेका भनिएका ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका लागि काम गरेको आरोप लाग्दै आएको छ। प्रहरी अधिकृतहरूका अनुसार, यही कारण उनी दुई दशकदेखि सुरक्षा चुनौतीमा छन्। २०७६ सालमा ७ करोड रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ पर्दा पनि उनले सुरक्षा चुनौतीका कारण नाटकीय रुपमा पक्राउ परेको हुनसक्ने आशंका गरिएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सम्पत्ति शुद्धीकरणको अनुसन्धानपछि प्रतिवेदन बुझाउने बेला पनि प्रहरीले अन्सारीलाई बाहिर सुरक्षा जोखिम कायमै रहेको भन्दै धरौटीमा छुट्न हतार नगर्न सुझाव दिएको स्रोतले बताएको छ। यद्यपि, अन्सारीले भने आफूलाई अब चुनौती नभएको जिकिर गर्दै आएका थिए। तर, सोमबार धरौटी नबुझाउने उनको निर्णयले उनले फेरि कारागारलाई सुरक्षित आश्रयस्थलका रूपमा रोजेका हुन् कि भन्ने प्रश्न उब्जिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै