वीरगन्ज । केही मुस्लिम समुदायले मनाउने ताजिया (दाहा) आज वीरगन्जमा धुमधामका साथ मनाइँदैछ।
यस वर्ष ताजिया पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा व्यवस्थालाई निकै कडा पारिएको छ।
पर्वको व्यवस्थापन र समन्वयका लागि वीरगन्ज महानगरपालिका र सुरक्षा निकायहरू पूर्ण रूपमा सक्रिय देखिएका छन्। कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ।
आज बिहान एक चरणको दाहा प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको छ। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बिहानको प्रदर्शन शान्त र मर्यादित रह्यो। ‘अहिलेसम्म शान्तिपूर्वक दाहा सम्पन्न भएको छ,’ एसपी मिश्रले भने, ‘यसमा हातहतियार प्रदर्शन गरिएको छैन र ठूलो स्वरमा डिजे पनि बजाइएको छैन।’
दिउँसो २ बजेदेखि सुरु हुने विशेष प्रदर्शनका लागि सुरक्षा व्यवस्था अझ कडा पारिएको छ। जनप्रतिनिधिहरूको आग्रह बमोजिम दाहा प्रदर्शन पुरानो बसपार्कमा नै गर्न दिइएको एसपी मिश्रले जानकारी दिए।
यता, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्जलगायत जिल्लाभरि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताए। ‘कुनै पनि सम्भावित दुर्घटनालाई ट्याकल गर्न हामी तयार छौं,’ अर्यालले भने, ‘प्रशासन र सुरक्षा निकाय यस वर्ष ताजियालाई कुनै पनि विवादरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कटिबद्ध छ ।’