ट्रेन्डिङ

ए प्लस होस्पिटल कलैयामा ६८ जनाद्वारा रक्तदान, रगतको अभाव टार्न महत्वपूर्ण पहल

वीरगन्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ नेपाल विद्युत प्राधिकरणसँगै रहेको ए प्लस होस्पिटल एण्ड ट्रमा सेन्टरले वृहत् रक्तदान सम्पन्न गरेको छ ।

गर्मीको समयमा रगतको चरम अभाव रहेको अवस्थामा ए प्लसले रगतको अभाव टार्न महत्वपूर्ण पहल गरेको छ । आज विहान ८ बजेदेखि १२ बजेसम्म आयोजना गरिएको वृहत् रक्तदानमा गर्मीको चर्को तापक्रमका बाबजुद ६८ जनाले रक्तदान गरेको अस्पतालका सीईओ सुनिल उपाध्यायले जानकारी दिए । जसमध्ये १४ जना महिलाको उत्साहजनक सहभागिता रहेको थियो ।

ए प्लस हस्पिटल एन्ड ट्रमा सेन्टरको आयोजनामा सम्पन्न भएको रक्तदानको उद्घाटन कलैया–२७ का वडाध्यक्ष अशोक तिवारीले गरेका थिए । सीईओ उपाध्यायले वडाध्यक्ष तिवारीलाई रक्त संकलन सामग्री हस्तान्तरण गर्दै यस पुण्य कार्यको शुभारम्भ गरेका थिए । रक्तदान गर्ने सम्पूर्ण दाताहरूलाई अस्पतालका वरिष्ठ फिजिसियन डा. बिकेश पाण्डे र स्त्री रोग विशेषज्ञ डा. नवनीत राज पाण्डेले टीका तथा खादा लगाएर सम्मान प्रकट गरेका थिए ।

रक्तदान गर्ने दाताहरूमा डा. बिकेश पाण्डे, डा. नवनीत राज पाण्डे, पूनम पाण्डे, लक्ष्मी कुमारी मिश्र, रबिना महतो, जनमत पार्टीका केन्द्रीय सदस्य विकास सिंह, रुद्रदेव पाठक, समिना खातून, डा. आशिष यादव, पूजा यादव, रितु जैसवाल, चन्द्रमा कुमारी साह, रामबाबु पटेल, कविराज मगर, अनमोल पासवान लगायतका व्यक्तिहरू सहभागी थिए।

रक्त सञ्चार शाखा कलैया, बाराका इन्चार्ज राजबाबु गुप्ताको नेतृत्वमा ८ जनाको टोलीले प्राविधिक सहयोग उपलब्ध गराउँदै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

शाखाका इन्चार्ज राजबाबु गुप्ताले वर्तमान समयमा रगतको चरम अभाव रहेको बताए । उनका अनुसार, गर्मी मौसमका कारण रक्तदाताहरू कम हुने र त्यसको प्रत्यक्ष असर रक्त सञ्चार केन्द्रहरूमा पर्ने गर्दछ। प्रादेशिक अस्पताल कलैयाको रक्त सञ्चार शाखामा रगतको यति धेरै अभाव थियो कि दैनिक १० देखि १५ जना बिरामीलाई रगत नपाएर अन्यत्र पठाउनुपर्ने बाध्यता थियो। दैनिक ३० देखि ४० जना बिरामीहरू रगतको आवश्यकता लिएर आउँदा पनि रगत नपुगेर फर्काउनुपर्ने पीडादायी अवस्था रहेको गुप्ताले जानकारी दिए ।

विशेषगरी एनिमिया, थैलेसेमियाका बिरामीहरू, दुर्घटनामा परेका व्यक्तिहरू, शल्यक्रिया गर्नुपर्ने बिरामीहरू र सिजेरियन सेक्शनमार्फत सुत्केरी हुने महिलाहरूलाई रगतको अत्यावश्यकता पर्ने गर्दछ। यस्तो अवस्थामा ए प्लस हस्पिटलले ६८ जना रक्तदातालाई सहभागी गराएर रगत संकलन गर्नु जिल्लावासी र नगरवासीका लागि ठूलो राहत भएको गुप्ताले बताए ।

रक्तदाता पूनम पाण्डे, जसले यो आफ्नो पाँचौँ पटकको रक्तदान भएको बताइन् । उनले रक्तदानलाई धार्मिक र शारीरिक दुवै हिसाबले महत्त्वपूर्ण मानेको बताइन् । ‘म धेरै वर्ष पहिलेदेखि नै रक्तदान गर्दै आएको छु, अरू जो मानिसहरूलाई रगतको कमी छ, उनीहरूलाई यो रगत काम लागोस् भन्ने मेरो इच्छा हो,’ उनले भनिन् । उनले रक्तदानले अरूको जीवन बचाउने मात्र नभई दातालाई पनि आत्मसन्तुष्टि प्रदान गर्ने बताइन् ।

हस्पिटलका डाइरेक्टर प्रेमलाल पाण्डेले पनि रक्तदानको महत्वमाथि प्रकाश पार्दै, अस्पताल सञ्चालनमा आएको छोटो अवधिमै यति ठूलो रक्तदान कार्यक्रम आयोजना गर्न पाउनु गौरवको कुरा भएको बताए । उनले रक्तदानले रगतको अभाव टार्न र बिरामीको ज्यान बचाउन प्रत्यक्ष सहयोग पुग्ने कुरामा जोड दिए ।

रक्त सञ्चार शाखा कलैयाका इन्चार्ज गुप्ता र हस्पिटलका डाइरेक्टर पाण्डे दुवैले अन्य अस्पताल र संस्थाहरूलाई पनि यस्तै प्रकारका रक्तदान कार्यक्रमहरू आयोजना गरेर गर्मी मौसममा रगतको अभाव टार्न महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै