जनकपुरधाम । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले स्थानीय तहमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको गम्भीर आरोप लगाएका छन्।
जनकपुरमा शनिबार पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा निधिले एमालेको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरे।
नेता निधिले नेपाली कांग्रेस सहमति र सामूहिक अभियानका लागि सधैँ तयार रहेको स्पष्ट पारेका छन्। तर, एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको उनको भनाइ छ। निधिका अनुसार, एमालेले विभिन्न नगरपालिकाहरूमा बजेट ल्याउन समस्या सिर्जना गरिरहेको छ।
उनले एमालेमाथि मेयरको अधिकार कटौती गर्नेगरी कार्यविधि बनाउन दबाव दिँदै कतिपय नगरपालिकाहरूमा बजेट प्रक्रियामा अवरोध गरेको आरोपसमेत लगाए। यो कार्यले स्थानीय सरकारको सञ्चालनमा प्रतिकूल असर परिरहेको निधिले औंल्याए।
सांसद निधिले राजनीतिक दलका नेताहरू ‘राजनीतिक प्रतिशोधका कारण’ अघिल्लो सरकारले वा फरक दलका नेताले ल्याएका योजनाहरूलाई अवरोध पुर्याउने वा कार्यान्वयन हुन नदिने काममा लागेको आरोपसमेत लगाए। यस किसिमको प्रवृत्तिले स्थानीय विकास निर्माणमा प्रत्यक्ष बाधा पुगिरहेको र यसले अन्ततः जनतालाई नै मर्का पर्ने निधिले बताए।