वीरगन्ज। यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (eDL) प्रणालीसँग सम्बन्धित सम्पूर्ण सेवाहरू बन्द गरेको छ।
विभागमा प्राविधिक समस्या देखिएकाले उक्त समस्या समाधान नभएसम्मका लागि सेवाहरू बन्द गरिएको हो।
आज २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएकाले तत्काल समाधानका लागि कार्य भइरहेको विभागले जनाएको छ। अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू (eDL प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) पूर्ण रूपमा बन्द रहनेछन्।
यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमा याचना गरेको छ। विभागले प्राविधिक समस्या समाधान गरी यथाशीघ्र सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
थप जानकारीका लागि विभागको आधिकारिक सूचना वा वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।