वीरगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र र शान्ति प्रक्रियामा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदानको चर्चा गर्दै उनको सपना पूरा गर्नेतर्फ अहिलेको नेतृत्व गम्भीर नभएको बताएका छन्।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीका अवसरमा शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार, संसदीय अभ्यास र न्यायालयका गतिविधि जनतासँग गरिएको वाचाविपरीत भइरहेको भन्दै तीव्र असन्तुष्टि पोखे।
प्रचण्डले विस्तृत शान्ति सम्झौताको भावना अनुरूप देश अघि नबढेकोमा गम्भीर प्रश्न उठाए। उनले भने, ‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौँ, के त्यतैतिर अगाडि बढेका छौँ त ?’ उनको यो प्रश्नले शान्ति प्रक्रियाका मूलभूत सिद्धान्तहरूबाट वर्तमान नेतृत्व विचलित भएको आरोप लगाएको छ।
गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै प्रचण्डले अहिले नेतृत्वमा रहेकाहरूले ‘आत्मसमीक्षा’ गर्नुपर्ने बेला आएको बताए।
गिरिजाबाबुको योगदानको सम्मान गर्दै अध्यक्ष प्रचण्डले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोमा चिन्ता व्यक्त गरे। जनताको भावना र समस्या बुझ्न आफू हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित ‘जनतासँगको अभियान’मा निस्किएको उनले जानकारी दिए।
‘म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ,’ प्रचण्डले भने, ‘अहिले जे भइरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन्। निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौँ भने स्थिति गम्भीर छ।’