वीरगन्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बिहान वीरगन्ज महानगरपालिकामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
बिहान चलेको यस वृक्षारोपणमा ४०० भन्दा बढी विभिन्न किसिमका बिरुवा रोपिएको छ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगन्ज पर्साका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए।
महानगरपालिका–१६ रजत जयन्ती चोकदेखि बाईपास रोड हुँदै वैष्णवी मन्दिर चोकसम्मको क्षेत्रमा वृक्षारोपण भएको ग्रीन सिटीका अध्यक्ष खेतानले जानकारी दिए । यो वृक्षारोपण कार्यक्रम वीरगन्ज महानगरपालिका कार्यालय, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा भएको थियो।
कार्यक्रममा नागरिक समाजका अगुवाहरू, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीहरू, सञ्चारकर्मी, सरकारी तथा गैर–सरकारी संघसंस्थाका पदाधिकारीहरू र स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यस पहलले वीरगन्जको हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।