ट्रेन्डिङ

धनुषाको धनौजीमा ‘सेटिङ’ भ्रष्टाचारको पोल खुल्यो : पूर्व अध्यक्षसहित ९ जनाविरुद्ध अख्तियारको मुद्दा

वीरगन्ज । धनुषाको धनौजी गाउँपालिकामा ‘सेटिङ’ मार्फत टेन्डर दिलाएर लाखौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पूर्व अध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यो घटनाले स्थानीय तहमा व्याप्त अनियमितता र सार्वजनिक सम्पत्तिको दुरुपयोगको अर्को ज्वलन्त उदाहरण पेस गरेको छ।

अख्तियारका अनुसार, आर्थिक वर्ष २०७७/०७८ मा ‘बजार नाला तथा फोहोरमैला व्यवस्थापन’ शीर्षकमा विनियोजित बजेटमा ठूलो अनियमितता भएको छ। गाउँपालिकाका पदाधिकारी र निर्माण व्यवसायीको मिलेमतोमा ‘एकता सप्लाई’ नामक कम्पनीलाई काम दिलाउन रहस्यमय ‘सेटिङ’ गरिएको आरोप छ।

बिना कुनै औपचारिक निर्णय, ‘बजार सेड निर्माण’ कार्यमा गोप्य रूपमा एउटै निर्माण व्यवसायीबाट तीन फरक कम्पनीको नाममा टेन्डर भराइएको अख्तियारको अनुसन्धानले देखाएको छ। यो ‘सेटिङ’ यति खुल्लमखुल्ला थियो कि, सिमेन्ट र बालुवा बाहेकका सबै आइटममा दररेट जम्मा एक रुपैयाँको मात्र फरक राखिएको थियो, जसले प्रतिस्पर्धालाई पूर्णतः निष्क्रिय पारेको थियो। यसरी कमिसनको खेलमा बिना प्रतिस्पर्धा एकता सप्लाईलाई टेन्डर दिइएको अख्तियारको दाबी छ।

गुणस्तरहीन काम र लाखौंको हिनामिना

टेन्डर हात पारेपछि गुणस्तरहीन बजार सेड निर्माण गरिएको मात्र होइन, काम भन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिएर ५० लाख विनियोजन भएको नाला निर्माण र ४२ लाख विनियोजन भएको फोहोरमैला व्यवस्थापनको बजेटबाट ३१ लाख ३४ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना तथा हानीनोक्सानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

को को तानिए मुद्दामा ?

अख्तियारले यस भ्रष्टाचार प्रकरणमा धनौजी गाउँपालिकाका पूर्व अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल र सावनकुमार चौधरीसहित ९ जनालाई प्रतिवादी बनाएको छ। प्रतिवादीको सूचीमा सब इन्जिनियर छोटे मण्डल, नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सहलेखापाल विनोदकुमार मण्डल र निर्माण कम्पनी एकता कन्स्ट्रक्सन तथा उक्त कम्पनीका इन्द्रेशकुमार सिहं समेत छन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै