विराटनगर । शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरीकै नाममा अपहरण र लुटपाट गरेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
यस घटनाले आपराधिक समूहको दुस्साहस र त्यसमाथि राजनीतिक संरक्षणको आशंकालाई उजागर गरेको छ। पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य तथा ‘पटके अपराधी’को सूचीमा रहेका २६ वर्षीय कुशल पाण्डे मुख्य नाइके रहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका अनुसार, यो समूहले गत असार ११ गते विराटनगर महानगरपालिका–१५ का विक्रमकुमार साह तेलीलाई ‘प्रहरी’ भएको बहाना बनाएर अपहरण गरेको थियो। विराटनगर–१३ महतो टोलबाट बिहानै अपहरण गरिएका साहलाई विराटनगर–१४ जतुवामा पुर्याएर उनको साथमा रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटपाट गरिएको थियो। लुटपाटपछि कसैलाई बताए ज्यान मार्ने धम्की समेत दिइएको थियो।
अपहरणकारीले साहलाई जिल्ला प्रहरी कार्यालय ल्याएको भन्दै उनका आफन्तलाई झुक्याएर प्रहरी कार्यालय बोलाएका थिए। जब आफन्तहरू प्रहरी कार्यालय पुगे र घटनाको सत्यतथ्य बाहिरियो, तब मात्र यो जघन्य अपराधको खुलासा भयो।
पक्राउ परेका तीनै जना कुशल पाण्डे, समीर हुसेन (२४) र आशिव अन्सारी (२६) ‘पटके अपराधी’ भएको प्रहरीले जनाएको छ। उनीहरू गत २०८० साउन ३० गते विराटनगर–१० संसारी माइस्थानमा मोहम्मद हलिम खानमाथि तरबार प्रहार गरेको घटनामा समेत संलग्न थिए। सो घटनामा हुसेन र अन्सारीले सफाइ पाए पनि पाण्डे भने फरार सूचीमा थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान र स्रोतका अनुसार, मुख्य नाइके कुशल पाण्डे लामो समयदेखि विराटनगरमै भए पनि नेकपा माओवादी केन्द्रका स्थानीय नेताको संरक्षणका कारण प्रहरीले उनलाई पक्राउ गर्न ‘चासो’ देखाएको थिएन। ‘प्रहरीकै नाममा’ अपहरण र डकैतीको गम्भीर घटना सार्वजनिक भएपछि मात्र प्रहरी पाण्डेलाई पक्राउ गर्न बाध्य भएको बुझिएको छ।
मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार, प्रहरी रेकर्डमा कुशल पाण्डेविरुद्ध दुई वटा ज्यान मार्ने उद्योग र एउटा अभद्र व्यवहारको मुद्दा दर्ता छन्। मञ्जु तामाङको जाहेरीले इलाका प्रहरी कार्यालय रानीले ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो भने स्माइल साफीको जाहेरीले ज्यान मार्ने उद्योग र प्रवेज आलमको जाहेरीले अभद्र व्यवहारको मुद्दा चलेको थियो। अन्य दुई जना हुसेन र अन्सारीविरुद्ध पनि दुई वटा मुद्दा चलेका थिए।
प्रहरी स्रोतका अनुसार, यो समूह यसअघिदेखि नै गुण्डागर्दीमा संलग्न थियो। हाल तीनै जनाविरुद्ध शरीर बन्धक बनाई डाँका गरेको कसुरमा अनुसन्धान भइरहेको छ।
यस घटनाले प्रहरी प्रशासनको पारदर्शिता, आपराधिक गतिविधिमा राजनीतिक संरक्षणको भूमिका र समाजमा बढ्दो अपराधको चिन्ताजनक अवस्थालाई पुनः एकपटक सतहमा ल्याइदिएको छ। यस विषयमा थप अनुसन्धान र राजनीतिक संरक्षणबारे निष्पक्ष छानबिनको माग सर्वत्र उठेको छ।