ट्रेन्डिङ

धनुषामा साइबर अपराध र आत्महत्या न्यूनीकरणबारे प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जनकपुरधाम । बढ्दो साइबर अपराध र मानसिक स्वास्थ्यका कारण हुने आत्महत्याका घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ धनुषा प्रहरीले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित हिमाली इङ्ग्लिस बोर्डिङ स्कुलमा ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो।

कार्यक्रममा विद्यालयका प्रधानअध्यापक, शिक्षक–शिक्षिका र कक्षा ८, ९ तथा १० मा अध्ययनरत विद्यार्थीहरू गरी कुल १६० जनाको उपस्थिति रहेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक निकिता कुमारी मिश्राको कमान्डमा खटिएको प्रहरी टोलीले कार्यक्रममा सहजीकरण गरेको थियो।

कार्यक्रममा सहभागीहरूलाई साइबर अपराधका विभिन्न स्वरूपहरू, यसबाट बच्ने उपायहरू र विद्युतीय माध्यमको सुरक्षित प्रयोगबारे जानकारी गराइएको थियो। त्यसैगरी, मानसिक स्वास्थ्य समस्या, आत्महत्याका संकेतहरू र यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने बारेमा पनि विस्तृत छलफल गरिएको थियो। विद्यार्थी तथा शिक्षकहरूले यस विषयमा आ–आफ्ना जिज्ञासाहरू राखेका थिए।

प्रहरी निरीक्षक मिश्राले आजको डिजिटल युगमा युवा पुस्तालाई साइबर सुरक्षाबारे सचेत गराउनु र मानसिक स्वास्थ्यका विषयमा खुल्ला बहसको वातावरण बनाउनु अत्यन्तै आवश्यक रहेकोमा जोड दिइन्। विद्यालयका प्रधानअध्यापकले पनि यस्ता जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षित र सचेत नागरिक बन्न मद्दत पुग्ने भन्दै धनुषा प्रहरीप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै