वीरगन्ज । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा अपदस्थ अवामी लिगकी नेतृ शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)का न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला सुनाएको ढाका ट्रिब्युनले जनाएको छ।
हसिनामाथि ‘मानवता विरुद्धका अपराध’को औपचारिक आरोप लागेको एक महिनापछि यो जेल सजाय आएको हो। आईसीटीले जुन २०२५ मा शेख हसिनामाथि सन् २०२४ को जुलाईमा देशभर भएको जनविद्रोहका क्रममा भएको सामूहिक हत्याको आदेश दिने मुख्य व्यक्ति रहेको दाबी गर्दै औपचारिक रूपमा आरोप लगाएको थियो।
मुख्य अभियोजक मोहम्मद ताजुल इस्लाम र उनको टोलीले अदालतमा बुझाएको आरोपपत्रमा हसिनालाई जुलाई र अगस्ट २०२४ मा भएका हिंसात्मक दमनहरूको प्रमुख योजनाकार भएको आरोप लगाइएको छ।
शेख हसिनाले करिब ११ महिनाअघि (अगस्ट ५, २०२४) प्रधानमन्त्री पदबाट राजीनामा दिँदै ढाकास्थित निवास खाली गरेर भारततर्फ प्रस्थान गरेकी थिइन्। त्यतिबेला ढाकामा कर्फ्युको अवज्ञा गर्दै हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए, जसले उनको शासनविरुद्ध व्यापक जनविद्रोहको संकेत गरेको थियो।
यसै मुद्दामा गाइबान्धाको गोविन्दगञ्जका शाकिल आकन्द बुलबुललाई पनि २ महिनाको कैद सजाय सुनाइएको छ।