ट्रेन्डिङ

१० वर्षे आन्तरिक रोजगारी अभियान चलाउने श्रममन्त्रीको घोषणा

वीरगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको समृद्धि केवल भौतिक पूर्वाधारको विकासमा मात्र सीमित नभई मानव विकास, रोजगारी सिर्जना र सामाजिक सुरक्षासँग प्रत्यक्ष जोडिएको स्पष्ट पारेका छन्।

राष्ट्रिय सभामा विनियोजन विधेयक २०८२ माथिको छलफलमा उनले देशलाई आत्मनिर्भर र समृद्ध बनाउन समग्र श्रम क्षेत्रको बहुआयामिक विकासमा जोड दिए।

मन्त्री भण्डारीले आगामी १० वर्षसम्म आन्तरिक रोजगारी सिर्जनालाई ‘अभियानकै रूपमा’ सञ्चालन गर्ने आवश्यकता औंल्याएका छन्। उनले रोजगारीले गरिबी न्यूनीकरणमा मात्र नभई स्थानीय र प्रदेशस्तरको आर्थिक तथा सामाजिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने बताए। प्राकृतिक र मानव संसाधनको अधिकतम उपयोग गर्दै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने मन्त्रालयको लक्ष्य रहेको भन्दै उनले यसका लागि सांसदहरूको साथ र सहयोगको अपेक्षा राखे।

नेपालमा नेपाली युवाहरूका लागि रोजगारी सिर्जना गर्ने र विदेशमा नेपाली, नेपालमा विदेशी कामदारको प्रवृत्तिलाई बदल्ने मन्त्रालयको योजना छ। यसका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई प्रभावकारी बनाइने मन्त्री भण्डारीले बताए। उनले ‘श्रम व्यक्तिको पूँजी हो, र उत्पादकत्व सीपसँग जोड्ने’ कार्ययोजना रहेको स्पष्ट पारे।

मन्त्रालयले युवालाई स्वदेशमै रोजगारी दिने सुझावलाई आत्मसात गर्दै समग्र श्रम तथा रोजगारी क्षेत्रमा नयाँ र उच्च प्रविधि प्रयोग गरी स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूलाई सेवा प्रवाह गरिरहेको जानकारी दिए।

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन मन्त्रालयले नीतिगत र संस्थागत सुधारका लागि सशक्त कदम चालिसकेको मन्त्री भण्डारीले जानकारी दिए। युरोपका १३ वटा नयाँ गन्तव्य मुलुकसँग श्रम समझदारीको प्रस्ताव गरिएको उनले बताए।

विशेषगरी वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि सरकार ‘निर्मम’ रूपमा प्रस्तुत हुने उनले प्रतिबद्धता जनाए। यसका लागि सम्बन्धित जिल्लाकै प्रशासनिक र न्यायिक संयन्त्र प्रयोग हुने गरी ऐन परिमार्जन गर्न लागिएको जानकारी पनि मन्त्री भण्डारीले राष्ट्रिय सभालाई गराए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै