वीरगन्ज । वीरगन्जस्थित ब्राइट प्लस टु कलेजमा ‘मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व’ विषयमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रममा श्रीराम अस्पतालकी निर्देशक डा. प्रीति यादवले विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यको महत्त्व, तनाव व्यवस्थापन र आत्मविश्वास बढाउने उपायहरूबारे प्रकाश पारिन्। उनले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजस्तै प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी, पर्साका अध्यक्ष कमल चौगाईले ‘ग्लोबली सोचौं, स्थानीय रूपमा कार्य गरौं’ भन्ने मूल नारासहित युवालाई सामाजिक परिवर्तनको वाहकका रूपमा प्रस्तुत गरे।
उनले युवाहरूलाई सीप सिकेर विदेशिनेभन्दा आफ्नै देशमा सिर्जनशील कार्य गरी रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्न आग्रह गरे। ‘खाडी जानुको सट्टा यदि यही देशमा केही गर्न सकियो भने स्वाभिमानका साथ बाँच्न सकिन्छ, आफ्नै माटोमा केही गर्न पाउनु गर्वको कुरा हो,’ चौगाईले भने।
चौगाईका अनुसार, सामाजिक परिवर्तन युवाको सक्रियता, सकारात्मक सोच र नवप्रवर्तनशील क्षमताबाटै सम्भव छ। यसै उद्देश्यका साथ नेपाल इनोभेटिभ सोसाइटीले युवामैत्री कार्यक्रम, उद्यमशीलता अभिवृद्धि, शिक्षा र स्वास्थ्यका परियोजनाहरूमा काम गर्दै आएको छ।
ब्राइट प्लस टु कलेजद्वारा आयोजित यस कार्यक्रममा कलेजका निर्देशक मुकेश प्रसाद गुप्ता र समन्वयकर्ता गोविन्द प्रसाद गुप्ताको उपस्थितिमा कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरू सहभागी थिए। कार्यक्रमले विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यप्रति सजग बनाउनुका साथै सामाजिक उत्तरदायित्वप्रति सचेत गराउने लक्ष्य राखेको थियो।