फाइल तस्बिर
वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा वीरगन्जका विभिन्न स्थानबाट प्रहरीले २८ लाख रुपैयाँभन्दा बढी रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। यो रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको आशंका गरिएको छ।
पक्राउ पर्नेहरूमा पर्साको पकहामैनपुर गाउँपालिकाका अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका–३ का विनित श्रीवास्तव र बाराको परवानीपुर–४ का दीपक कुमार सोनार रहेका छन्।
पक्राउ परेका तीनै जनालाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा राखि थप सोधपुछ भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।
डिएसपी लम्सालका अनुसार उनीहरुलाई जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।
प्रहरीले अहिले हुण्डीका मुख्य कारोबारीको खोजी गरिरहेको बताएको छ। यस घटनाले पर्सामा हुण्डी कारोबारको सञ्जाल सक्रिय रहेको र प्रहरीले यसलाई नियन्त्रणमा लिन सक्रियता बढाएको देखाउँछ।