जनकपुरधाम । धनुषा प्रहरीले लागूऔषध ओसारपसार र ब्ल्याकमेलिङको आरोपमा संलग्न दुई फरक अभियुक्तलाई सार्वजनिक गरेको छ।
प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीले सोमबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा जनकनन्दिनी गाउँपालिका–१ स्थित ईनर्वा कमला बाँधको सडकमा चेकजाँचको क्रममा लागूऔषधसहित एक युवकलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्ति सिरहा जिल्ला, कल्याणपुर नगरपालिका–४ का २० वर्षीय कृष्ण ठाकुर हुन्।
प्रहरीका अनुसार भारतको जयनगरबाट मलहनियातर्फ आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्दा तीनमध्ये एक जना फरार हुन खोजेपछि शंका लागेर थप जाँच गरिएको थियो। कृष्ण ठाकुरको साथबाट प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा खैरो हेरोइन जस्तो देखिने ४९.५९ ग्राम लागूऔषध बरामद भएको छ।
यसैगरी, ठगी, आपराधिक विश्वासघात, आर्थिक लाभको उद्देश्यसहित विद्युतीय अपराध गरेको आरोपमा धनुषाको औरही गाउँपालिका–५ का ३६ वर्षीय हनिफ नदाफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एसपी रेग्मीका अनुसार नदाफले सामाजिक सञ्जालमार्फत दुई वर्षअघि एक महिलासँग परिचय गराई फोटो र भिडियोहरू इमो एपमार्फत आदानप्रदान गरेका थिए। पछि ती सामग्रीलाई सम्पादन गरी फेक अश्लील सामग्री बनाई ब्ल्याकमेल गर्दै पीडित महिलाबाट पाँच लाख रुपैयाँ असुली गरेका थिए। साथै, उनले पीडितलाई शारीरिक र मानसिक यातना दिएको प्रहरीको दाबी छ।
पक्राउ परेका नदाफलाई धनुषा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।