रौतहट । झन्डै तीन वर्षअघि आफ्नी श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका–४ घिउरा टोलका फैयाद मियाँ मन्सुरी रहेका छन्।
प्रहरीका अनुसार, मन्सुरीमाथि २०७८ माघ २६ गते आफ्नी २० वर्षीया श्रीमती चाँदनी खातुनको हत्या गरेको आरोप छ। चाँदनीको शव सोही दिन गहुँ खेतमा फेला परेको थियो। प्रहरीले दिएको जानकारीअनुसार, उनको घाँटीमा सल बेरेको र मुखमा समेत सल कोचेको अवस्थामा शव भेटिएको थियो, जसले हत्या भएको स्पष्ट संकेत दिएको थियो।
घटनालगत्तै फरार भएका मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले लामो समयको खोजीपछि हालै पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका मन्सुरीविरुद्ध रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।