सर्लाही । नेपाल किसान महासंघ सर्लाही जिल्ला कार्य समितिले आइतबार बसवरीयामा ‘आफ्नो देशको उत्पादन हाम्रो शानः कृषिमा उन्नति हाम्रो अभियान’ भन्ने नाराका साथ धान रोपाई कार्यक्रम र किसान सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा मधेश प्रदेशका नेपाली कांग्रेसका उपसभापति वीरेन्द्र प्रसाद सिंहले प्रमुख अतिथिको रूपमा उपस्थित भई किसानका हकहितका लागि कांग्रेस सधैं प्रतिबद्ध रहेको स्पष्ट पारे।
पूर्वमन्त्री समेत रहेका सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउनुपर्ने माग दोहोर्याए। उनले जलवायुमैत्री प्रविधि, आधुनिक कृषि खेतीको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान, मकै लगायतका बालीको उत्पादन बढाउन संघीय सरकार र मधेश सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए। यसका लागि आफू र आफ्नो पार्टी पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए।
सिंहले मधेश प्रदेशमा नेपाली कांग्रेसकै कृषि मन्त्री रहेको र आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल र सिँचाइ सुविधाको सहज पहुँचमार्फत कृषकको जीवनस्तर उकास्ने लक्ष्यसहित आवश्यक नीति तथा कार्यक्रमहरू समावेश गरिएको जानकारी दिए। उनले मधेश प्रदेश सरकारलाई कृषि क्षेत्रमा शतप्रतिशत बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने र थप जोड दिने प्रतिबद्धता पनि व्यक्त गरे।
सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार, प्रमुख अतिथि सिंहले आफू किसानका समस्याहरूसँग परिचित रहेको र त्यसलाई समाधान गर्न गम्भीर रहेको बताएका थिए। नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको नेतृत्वमा नेपाल किसान महासंघ सर्लाहीको आयोजनामा जिल्लाका विभिन्न ठाउँमा धान रोपाई कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको छ।