वीरगन्ज । लामो समयदेखि प्रतीक्षित संघीय निजामती सेवा विधेयक आइतबार प्रतिनिधिसभाबाट पारित भएको छ।
यो विधेयक ऐनमा रूपान्तरित भएपछि प्रशासनिक संघीयता कार्यान्वयनमा सहज हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विश्वास व्यक्त गरेका छन्।
विधेयकमाथि सदनमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुप्ताले यो विधेयक नेपालको संविधान २०७२ को मर्मअनुसार आएको स्पष्ट पारे।
यस विधेयकका केही महत्त्वपूर्ण प्रावधानहरूमध्ये एक, संघीय निजामती सेवाबाट अवकाश पाएका कर्मचारीहरूले संवैधानिक नियुक्ति लिनका लागि दुई वर्ष पर्खनुपर्ने व्यवस्था यथावत राखिएको छ। राज्य व्यवस्था समितिबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको हो।
प्रतिनिधिसभाबाट पारित भएसँगै अब यो विधेयक राष्ट्रिय सभामा पेस गरिनेछ। राष्ट्रिय सभाबाट पनि पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई यो ऐनका रूपमा लागू हुनेछ, जसले देशको समग्र निजामती प्रशासन र संघीयताको कार्यान्वयनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ।