ट्रेन्डिङ

रौतहटमा तस्करी बढ्दो, बदनाम घुमुवा प्रहरीलाई महिनाको उत्कृष्ट प्रहरी सम्मान

रौतहट । रौतहट जिल्लाका नाकाबाट हुने तस्करी रोक्नुपर्ने भूमिकामा रहेका प्रहरीले नै तस्करी प्रवद्र्धन गरिरहेका छन भन्ने गम्भीर आरोपबीच एक बदनाम घुमुवा प्रहरीलाई जेठ महिनाको उत्कृष्ट प्रहरीको सम्मान दिइएको छ ।

रौतहटका सीमावर्ती नाकाबाट विगत केही महिनादेखि खुलेआम तस्करी हुँदै आएको छ । तस्करी नियन्त्रणको अभियान चलाउनु पर्ने प्रहरीले उल्टै तस्करीको सुरक्षा गर्ने भूमिका खेलेको स्थानीयको आरोप छ । यति मात्रै होइन, तस्करी रोक्न नखोज्ने भन्दै विवादित बनेका प्रहरी सहायक हवल्दार ध्रुव प्रसाद यादवलाई जिल्लामा हालै आएका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेका छन् ।

यसअघि रौतहटमा कार्यरत प्रहरी उपरीक्षक दिलिप घिमिरेले तस्करी नियन्त्रणमा कडाइ गरेका थिए । उनले न त तस्करीको लाइन चलाए, न त मातहतलाई चलाउन दिए । बदमासी गर्ने प्रहरीमाथि कारबाहीसमेत गरे। तर, घिमिरेको सरुवा भएसँगै अवस्था फेरिएको छ ।

नयाँ प्रहरी उपरीक्षक गिरी आएपछि तस्करी रोक्नुको साटो खुलेआम चलिरहेको छ । तस्करीसम्बन्धी सूचना दिँदा पनि कुनै प्रभावकारी कारबाही भएको छैन । गिरीकै पालामा यादवलाई तस्करीका ‘मास्टरमाइन्ड’ को आरोपबीच उत्कृष्ट प्रहरीको सम्मान दिइनुले आलोचना चुलिएको छ ।

रौतहटको अस्थायी प्रहरी चौकी हररनगरमा दरबन्दी भएतापनि यादव असुली धन्दामा यति सक्रिय छन कि उनलाई कहिँ पनि ड्युटी दिएको छैन । गौर भन्सारदेखि चन्द्रनिगाहपुरसम्मको नाका यही चौकी नजिकबाट पर्छ । स्थानीयका अनुसार, यहाँको काम अब तस्करी नियन्त्रण होइन, पैसा लिएर सामान छोड्ने अभियान बनेको छ ।

एक प्रहरी स्रोतका अनुसार, ‘यादवले नाम लिएको तस्करलाई जान दिन एसपी गिरीको आदेश छ भन्ने सुनिन्छ । हामीले सामान नियन्त्रणमा लिएपछि पनि माथिबाट फोन आउँछ । हाकिमको निर्देशन भनेर छोड्न बाध्य बनाइन्छ ।’

प्रहरी उपरीक्षक नेत्रमणि गिरीको संरक्षणमा प्रशासन शाखाका प्रहरी निरीक्षक सारेज दर्लाकोटी र हवल्दार यादवको संगठित मिलेमतोका कारण असुली धन्दा दिन प्रतिदिन सहज र निर्बाध रूपमा असुली धन्दा झनै संगठित र सहज रूपमा सञ्चालन भइरहेको प्रहरी स्रोत बताउँछ ।

यही चौकीमा ‘सेटिङ’ मिलाउनु पर्ने बाध्यता छ । किनभने यही बाटो भएर तस्करीको मुख्य आवागमन हुन्छ । चौकी अस्थायी भए पनि चेकपोस्टको रूपमा काम गर्छ । यहाँ कार्यरत हुने असई तहका प्रहरीका लागि जिल्ला प्रहरी कार्यालयमा ‘टेण्डर’ प्रक्रिया झैं प्रतिस्पर्धा हुने गरेको प्रहरी स्रोत बताउँछ । मासिक लाखौं कमाइ हुने भएपछि यस्तो चलन बसेको हो ।

यादव कहिल्यै नियमित ड्युटीमा देखिँदैनन् । उनलाई गौर भन्सार वरपर बढी देखिन्छ । सबै नाका कुन वस्तु कसले तस्करी गर्छ भन्ने उनलाई राम्रैसँग थाहा रहेको बताइन्छ । यही जानकारीको प्रयोग गरी उनी हाल रौतहटको तस्करी र असुलीको केन्द्र बनेका छन् ।

‘तस्करीमै लिप्त, ड्युटीमै नगई घुमुवा बनेका यादवलाई उत्कृष्ट प्रहरी बनाउनु आफैमा प्रहरी संगठनमाथिको प्रश्न हो,’ एक प्रहरी अधिकृतले नाम गोप्य राख्ने सर्तमा भने, ‘प्रहरी संगठनभित्र राम्रो गर्नेभन्दा सेटिङ मिलाउनेलाई पुरस्कृत गर्ने गलत अभ्यास बलियो हुँदै गएको छ।’

तस्करी नियन्त्रणको जिम्मेवारी लिने प्रहरी नै त्यसमा संलग्न देखिँदा नागरिक विश्वास गुम्ने जोखिम बढेको छ । यसबारे प्रहरी उपरीक्षक गिरी र निरीक्षक दर्लाकोटीको प्रतिक्रिया लिन खोज्दा दुवैले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै