जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित यस प्रतियोगिताको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले गरेका थिए भने मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
मुख्यमन्त्री सिंह र मन्त्री जयसवालले संयुक्त रूपमा गमलामा पानी हालेर प्रतियोगिताको औपचारिक उद्घाटन गरे । समारोहमा मधेश प्रदेश प्रहरी संगीत टोली र एनसीसी टोलीले भव्य स्वागत प्रस्तुति दिएका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहले कबड्डीलाई राष्ट्रिय खेलको रूपमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेलेकोमा खेलकुद मन्त्री प्रमोद जयसवाललाई धन्यवाद व्यक्त गरे ।
खेलकुद मन्त्री प्रमोद जयसवालले आफ्नो समापन मन्तव्यमा प्रतियोगितामा सातवटै प्रदेशले भाग लिएको जानकारी गराए । उनले ‘खेली मधेश, जिति मधेश’ मूल नाराका साथ धेरै खेलकुद कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री जयसवालले खेलाडी र खेलकुदलाई उच्च प्राथमिकता दिँदै अगाडि बढ्ने बताए।
मन्त्री जयसवालले आगामी दिनमा खेल र खेलाडीको लागि आवश्यक भौतिक संरचना निर्माण र खेलाडीहरूलाई प्रोत्साहन गर्न विशेष ध्यान दिइने बताए। उनले हार र जित खेलको एक स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै, हारबाट सिक्ने र कमीकमजोरी सुधार्ने अवसर मिल्ने तथा जितले मनोबल बढाउने बताए।
कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव रणजित यादव, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ता, प्रदेश सभा सदस्यहरू लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आजबाट सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टिम सहभागी हुन जनकपुरधाम आइपुगेका छन् । प्रत्येक प्रदेशबाट १२ जनाको दरले ८४ जना खेलाडी सहभागिता रहेको छ । सो प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार रुपैयाँ, दोस्रो हुने टोलीलाई २० हजार रुपैयाँ र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने बताइएको छ ।