जनकपुरधाम । देशको बिग्रँदो राजनीतिक अवस्था, व्याप्त भ्रष्टाचार र सुशासनको अभावलाई लिएर संघीय गणतान्त्रिक गठबन्धनले तेस्रो जनआन्दोलनको तयारी गर्ने घोषणा गरेको छ।
गठबन्धनले ‘संयुक्त जनजागरण अभियान’ मार्फत देशभर जनसंवाद गर्ने र संगठन विस्तार गर्ने निर्णयसमेत गरेको छ।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको अध्यक्षतामा सम्पन्न विशेष बैठकमा गठबन्धनमा आबद्ध बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकर, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टीका अध्यक्ष धुपलाल निशाद, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री ठाकुर र मधेश प्रदेशकी पूर्व गृह, कानुन तथा सञ्चारमन्त्री एवं प्रदेश सभा सदस्य बिमला अन्सारी लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो।
बैठकमा सहभागी नेताहरूले देशको वर्तमान अवस्था, संविधानको अपूर्ण कार्यान्वयन, न्याय र सुशासनको खडेरी तथा बढ्दो भ्रष्टाचारप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले ‘नेपालको उत्पीडित जनताले चाहेजस्तो संविधान बन्न सकेको छैन। देशमा सुशासन छैन, न्याय छैन र जनताले अधिकारको अनुभूति गर्न पाएका छैनन्,’ भन्दै असन्तुष्टि पोखे।
गठबन्धनले देश अहिले पनि भ्रष्टाचार, सामाजिक अन्याय, वर्गीय विभेद र पहिचानको अपमानबाट ग्रस्त रहेको निष्कर्ष निकालेको छ। यस्तो अवस्थामा मुलुकलाई सही दिशामा लैजान तेस्रो जनआन्दोलन अपरिहार्य भइसकेको गठबन्धनको ठहर छ।
बैठकले देशभरका जनतासम्म पुग्न र उनीहरूसँग प्रत्यक्ष संवाद गर्न ‘संयुक्त जनजागरण अभियान’ घोषणा गरेको छ। यस अभियानअन्तर्गत सातै प्रदेशमा प्रदेशस्तरीय भेला, अन्तरक्रिया तथा संगठन विस्तारका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
गठबन्धनले देशभरका सम्पूर्ण प्रगतिशील, अग्रगामी, सामाजिक न्यायप्रेमी, पहिचानवादी तथा वर्गीय उत्पीडनविरुद्ध लड्ने शक्तिहरूलाई संघीय गणतान्त्रिक गठबन्धनमा आबद्ध हुन खुला आह्वानसमेत गरेको छ।
गठबन्धनलाई थप विस्तारित गर्दै नयाँ शक्तिहरूलाई समावेश गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ। यस समितिले विभिन्न दल, संगठन तथा स्वतन्त्र समूहहरूसँग संवाद गरी गठबन्धनलाई थप बलियो र फराकिलो बनाउने कार्य गर्नेछ।
बैठकले आगामी ६ महिनाभित्र सातै प्रदेश र ७७ जिल्लामा संगठन विस्तार गर्ने निर्णय गरेको छ। यसका लागि संयोजन समिति गठन गरिनुका साथै जिल्ला तथा प्रदेशस्तरीय कमिटीहरू गठन गरिनेछ। प्रारम्भिक कार्यक्रम तालिकाअनुसार विभिन्न जिल्ला र प्रदेशमा भेला तथा कमिटी गठनका कार्यक्रमहरू तय गरिएका छन् ।
असार २१ गते सर्लाही, असार २५ गते महोत्तरी, असार २९ गते रौतहट, साउन १ गते बारा, साउन ३ गते वीरगंज, साउन १० गते सिरहा, साउन १२ गते सप्तरी, साउन १३ गते सुनसरी, साउन १५ गते मोरङ, साउन १७ गते झापा,
साउन १९ गते विराटनगर कोशी प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन, साउन २६ गते धनुषा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन, साउन २९ गते जनकपुरधाममा मधेश प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन गते निर्णय गरेको छ ।
गठबन्धनले देशमा कायम असमानता, उत्पीडन र पहिचानविहीन राजनीतिक संरचनालाई अन्त्य गर्न निर्णायक आन्दोलनको आवश्यकता औंल्याएको छ।