बारा । बारा प्रहरीले करिब २ किलो चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ का स्थायी बासिन्दा तथा हाल बाराको जीतपुर सिमरा उपमहानगरपालिका-६ मा बस्दै आएका ५६ वर्षीय बच्चु कुमार बुढाथोकी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले दिएको जानकारी अनुसार, बुधबार साँझ प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणघाटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बस पथलैया चोकमा रोकेर जाँच गरेको थियो।
सोही क्रममा बसको सह-चालक सिटमा कालो झोला बोकेर बसेका बुढाथोकीको झोलाबाट १ किलो ९३३ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ।
चरेसका साथै प्रहरीले बुढाथोकीको साथबाट नेपाली ६० हजार ५०० रुपैयाँ र भारतीय ३९ हजार २१७ रुपैयाँ गरी कुल १ लाख २३ हजार २४७ रुपैयाँ नगद पनि बरामद गरेको छ।
पक्राउ परेका बुढाथोकीलाई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।