वीरगन्ज । पर्सा जिल्ला अदालत परिसरभित्रै प्रहरीमाथि हातपात गर्न खोजेको आरोपमा आज एक जना वडाध्यक्षलाई पक्राउ गरिएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवलकिशोर साह कलवारलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले दिएको जानकारीअनुसार, वडाध्यक्ष कलवारले अदालत परिसरमा प्रवेश गर्ने क्रममा सुरक्षामा खटिएका प्रहरीले चेकजाँच गर्दा वादविवाद सुरु गरेका थिए। वादविवाद बढ्दै गएपछि उनले प्रहरीमाथि हातपात गर्ने प्रयास गरेको आरोप छ।
प्रहरीले लगत्तै उनलाई नियन्त्रणमा लिएको थियो। अहिले वडाध्यक्ष कलवारलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर घटनाबारे थप सोधपुछ र अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए।