जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकाका मेयरले किसानलाई वितरण गर्नु पर्ने घाँसको विउमा भ्रष्टाचार गरेको आरोप जनमत पार्टीका मेयर प्रत्यासी बीपी साहले लगाएका छन् ।
नगरपालिकाको तेह्रौं नगर सभालाई सम्बोधन गर्दै नेता साहले भ्रष्टाचारका विषयहरुलाई उजागर गरेका हुन् । ‘सबैला नगरपालिकाका ७ सय ४३ जना किसानलाई अनुदानमा वितरण गर्नु पर्ने घाँसको रकममा भ्रष्टाचार भएको छ । घाँसको विउ पाउने कुनै पनि किसानको नाम ठेगाना र अनुदानको किसिम खुलाइएको छैन । लेखापरीक्षण प्रतिवेदन २०८०/८१ ले घाँखमा भ्रष्टाचार भएको उल्लेख गरेको छ ।’ नगर सभालाई सम्बोधन गर्दै नेता साहले भने,‘यसरी सबैला नगरपालिकाका मेयर श्री कारिराम यादव ज्यूले किसानलाई दिनु पर्ने घाँसको अनुदानमा भ्रष्टाचार गरेर आफैले घाँस खानु भएको छ । यस विषयमा छानविन हुनु पर्छ ।’
यसैगरी सबैला नगरपालिकामा औषधी खरिदमा ब्यापक भ्रष्टाचार भएको आरोप जनमत पार्टीका सचिवसमेत रहेका नेता साहले लगाए । महालेखा परिक्षणको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ४५ लाख ६८ हजार ६ सय ३८ रुपैंयाको औषधी खरिद भएको छ । तर औषधी खरिदको सूचना पनि नरहेको र स्वास्थ्य शाखामा दाखिला समेत नभएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी सबैला नगरपालिकाले खरिद गरेको औषधीको म्यादसमेत उल्लेख छैन ।
‘सबैला नगरपालिकाका मेयर साहाबले जनताको लागि औषधी खरिद गर्नु भएको छ कि छैन भन्ने मलाई शंका छ । किनभने औषधी खरिदको सूचना पनि छैन, औषधी खरिद भएपछि स्वास्थ्य शाखामा दाखिला पनि भएको छैन ।’ नेता साहले भने,‘औषधी खरिद गरिएको भए एक्सपाइर मिति पनि हुन्थ्यो होला । तर कुनै पनि कुरा छैन भनेपछि मेयर साहाबले औषधी खरिदको नाममा ४५ लाखभन्दा बढीको भ्रष्टाचार गरेको देखिन्छ । यसलाई छानविन गरिनु पर्छ ।’
नगर सभालाई सम्बोधन गर्दै नेता साहले सबैला नगरपालिकामा करोडौंको भ्रष्टाचार भएकोले छानविन हुनुको माग गरेका छन् । नगरपालिकामा हालसम्म १ अर्व २ करोड ५ लाख १३ हजार बेरुजु रहेकोले नगरपालिका डुब्ने अवस्थामा पुगेको जिकिर नेता साहले गरे ।