वीरगन्ज । वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब, भत्ता, सञ्चय कोष, उपदान, ग्रेड तथा अन्य सेवा सुविधा नपाएको भन्दै आज पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन्।
कर्मचारीहरूले कानूनी रूपमा पाउनुपर्ने यी सुविधाहरू तत्काल उपलब्ध नगराए तीन दिनभित्र कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। कर्मचारीहरूका अनुसार, उनीहरूले आफ्नो वैध मागका लागि सम्बन्धित कार्यालयहरूमा मौखिक र लिखित रूपमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ भएन। यो मुद्दाले तब थप गम्भीर मोड लियो जब नेपाल सरकार श्रम तथा रोजगार कार्यालय, वीरगन्जले यस विषयमा २०८० असोज ७ र २१ गते पेश गरिएको निवेदन तथा त्यसका आधारमा २०८० चैत २७ र २०८१ माघ २७ मा गरिएको निर्णयअनुसार सम्पूर्ण सुविधा दिनुपर्ने ठहर गर्यो। तर, यसका बाबजुद पनि क्याम्पस प्रशासनले अहिलेसम्म उक्त निर्णयको पालना गरेको छैन।
श्रम कार्यालयले क्याम्पस प्रमुखलाई १५, ७ र ३ दिनको समयसीमा तोकी पटक–पटक पत्राचार गरे पनि प्रशासनको तर्फबाट कुनै प्रतिक्रिया नआएपछि कर्मचारीहरू बाध्य भई प्रजिअको शरणमा पुगेका हुन्।
ज्ञापनपत्र बुझाउने टोलीको नेतृत्व गरेका कर्मचारी युनियनका अध्यक्ष विनोद यादवले प्रमुख जिल्ला अधिकारी अर्यालले आफूहरूले उठाएको विषयलाई ‘गम्भीर’ रूपमा लिएको जानकारी दिए। यादवका अनुसार, प्रजिअ अर्यालले तत्काल श्रम कार्यालय वीरगन्जका प्रमुखलाई फोनमार्फत समस्या यथाशीघ्र समाधान गर्न निर्देशन दिएका थिए। प्रजिअ अर्यालले कर्मचारीको तलब र सेवा सुविधामा कुनै सम्झौता हुन नदिने स्पष्ट पार्दै आवश्यक कदम चाँडै चालिने आश्वासन दिएका छन्।
कर्मचारीहरूले आजको मितिदेखि आगामी तीन दिनभित्र सम्पूर्ण सुविधा उपलब्ध नगराए उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रमुख र सञ्चालक समितिको हुने चेतावनी दिएका छन्। यो विषयमा उनीहरूले क्याम्पस प्रमुख, श्रम तथा रोजगार कार्यालय र क्याम्पस सञ्चालक समितिलाई पनि बोधार्थ पत्र पठाएका छन्।
यदि समस्याको शीघ्र समाधान नभएमा कर्मचारीहरू चरणबद्ध आन्दोलनमा जान बाध्य हुने र त्यसबाट पर्न सक्ने प्रभावका लागि क्याम्पस प्रशासन नै जिम्मेवार हुने उनीहरूको भनाइ छ।