ट्रेन्डिङ

पशुपतिको शवदाह मेसिन खरिदमा साढे १० करोड भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा दायर

वीरगन्ज। पशुपति आर्यघाटमा विद्युतीय शवदाह मेसिन खरिद गर्दा झण्डै साढे १० करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार, थापासहितको मिलेमतोमा अस्वाभाविक रूपमा बढी लागत अनुमान तयार गरी, आवश्यकताभन्दा बढी अनुभवको मापदण्ड राखेर प्रतिस्पर्धा सीमित गरिएको थियो। साथै, अनुभव नै नभएको परामर्शदाताबाट फर्जी कोटेशन तयार गरी ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने मेसिनलाई १ करोड ५२ लाख रुपैयाँ पर्ने देखाएर खरिद गरिएको अख्तियारको दाबी छ।

यस प्रकरणमा कोषका तत्कालीन निमित्त सदस्य सचिव राजुराज खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी र सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक युवराज अधिकारी, कानूनी सल्लाहकार लैनबहादुर थापा, म्याप अन्टरप्रिनर्स प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई तथा इन्जिनियरिङ कन्सल्टेन्ट सुरज चापागाईँलाई प्रतिवादी बनाइएको छ।

न्यून गुणस्तरको मेसिन जडान गरिएको र सञ्चालनमा समेत नआएको भन्दै अख्तियारले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबी गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै