वीरगन्ज । लुम्बिनी प्रदेशकी जनमत पार्टीबाट समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई फरार देखाउँदै गत जेठ १६ गते प्रहरीको आग्रहमा पुर्जी जारी गरेको हो।
अदालतको आदेशअनुसार सुमनको घर ठेगानामा गई खानतलासी गरी पक्राउ गरेर बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ। यद्यपि, बर्दिया प्रहरीका अनुसार उक्त पत्र अहिलेसम्म प्राप्त भएको छैन।
पर्साको पोखरियाकी आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा बैंकिङ कसुरको उजुरी दिएकी थिइन्। जनमत पार्टीकै नेतृ चौहानसँग सुमनले साढे पाँच लाख रुपैयाँ सापटी लिएर चेक दिएको बताइएको छ। तर, फिर्ता गर्ने ग्यारेन्टीका लागि दिएको उक्त चेक साट्न जाँदा खातामा पैसा नभएपछि चेक बाउन्स भएको थियो।