ट्रेन्डिङ

तीन दर्जनभन्दा बढी नेता–कार्यकर्ता जनमतमा प्रवेश

रौतहट। रौतहटको कटहरिया नगरपालिका–५ स्थित कटहरिया बजारको विवाहमण्डपमा आज सम्पन्न जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रममा दर्जनौ नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) परित्याग गर्दै तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे। उनले नवप्रवेशीहरूप्रति विश्वास व्यक्त गर्दै पार्टीको संगठनात्मक विस्तारमा उनीहरूको भूमिका महत्वपूर्ण हुने बताए।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमालेकी महिला नेतृ नजमा खातुनको नेतृत्वमा एक दर्जन महिला रहेका छन्। त्यस्तै, नेपाली कांग्रेस परित्याग गर्दै अनिता देवी यादवको नेतृत्वमा एक दर्जनभन्दा बढी नेता–कार्यकर्ता जनमतमा प्रवेश गरेका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीका धिरेन्द्र कुमार गुप्ताको नेतृत्वमा पनि एक दर्जनभन्दा बढी कार्यकर्ताहरू जनमतमा सहभागी भएका छन्।

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुबन्त कुशवाहाले यस पार्टी प्रवेशलाई ऐतिहासिक रूपमा लिँदै रौतहटमा जनमत पार्टी अझ सशक्त बन्दै गएको बताए।

राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संगठन विस्तार, स्थानीय तहमा सशक्त उपस्थिति र आगामी रणनीतिका बारेमा समेत छलफल केन्द्रित भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै