जनकपुरधाम। स्वर्गीय रघुनाथ ठाकुरले प्रज्वलित गरेको मधेश विद्रोहको मसालको ब्याज आजका मधेशी नेताहरूले खाइरहेको तर उनलाई उचित सम्मान दिन नसकेको भन्दै जनमत पार्टीका नेता बीपी साहले घोर आपत्ति जनाएका छन्।
स्व. ठाकुरको ४४ औं स्मृति दिवसका अवसरमा जनकपुरधाममा आयोजित सडक अन्तरक्रियामा बोल्दै साहले वर्तमान मधेशी नेतृत्वले मधेश आन्दोलनका सूत्रधारहरूलाई बिर्सेको आरोप लगाए।
‘स्व. रघुनाथ ठाकुरले कोरेको मधेश विद्रोहको खाका र उनले पहिचान गरेका मुद्दाहरूकै वरिपरि मधेश आन्दोलन र मधेशको राजनीति घुमिरहेको छ,’ जनमत केन्द्रिय सचिव साहले भने, ‘यसबीचमा स्वघोषित कैयौं मधेशी मसिहाहरू आउनुभयो, तर ठाकुर जीको जस्तो मधेशको एकीकृत संघर्ष गर्न सक्नुभएन।’ नेता साहले अहिलेका नेताहरूले मधेश आन्दोलनलाई जातिवाद, परिवारवाद, पद र पैसावादमा रूपान्तरण गरेको भन्दै मधेश मुक्तिका लागि एकीकृत संघर्षको आवश्यकतामा जोड दिए।
स्वर्गीय ठाकुर मधेशका एक प्रसिद्ध राजनीतिक चिन्तक, लेखक तथा मधेशी अधिकार आन्दोलनका सशक्त आवाज थिए । साहका अनुसार, उनको योगदान मधेशका जनताको सांस्कृतिक, सामाजिक र राजनीतिक पहिचान निर्माणमा अतुलनीय छ। मधेशी समुदायमाथि भइरहेको ऐतिहासिक बेवास्ता, विभेद र परतन्त्रतालाई स्पष्ट भाषामा उजागर गर्नमा ठाकुरको महत्वपूर्ण भूमिका रहेको साहले जिकिर गरे।
‘ठाकुरको सबैभन्दा चर्चित पुस्तक ‘परतन्त्र मधेश और उसकी संस्कृति’ मधेशमाथिको प्रभुत्वशाली राज्य संरचनाको आलोचनात्मक अध्ययन रहेको साहले बताए। ठाकुरका विचारहरू उद्धृत गर्दै साहले भने, ‘नेपालको एकीकरणपश्चात मधेशलाई अधीनस्थ र शंकास्पद भूभागको रूपमा व्यवहार गरियो। राजनीतिक निर्णय प्रक्रियामा मधेशीहरूलाई सधैंको लागि दोस्रो दर्जाको नागरिकजस्तै बनाइएको छ।’