वीरगन्ज । वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली श्रमिकहरू मृत्यु, चर्को ऋण र डिजिटल ठगी जस्ता भयावह समस्याको चपेटामा परेको तथ्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले उजागर गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘वैदेशिक रोजगार कसुर सम्बन्धी अनुसन्धान, अभियोजन, न्याय सम्पादन तथा सहजीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै मन्त्री भण्डारीले यी समस्या समाधानका लागि अब कठोर र गहिरो कदम चाल्नुपर्ने बेला आएको बताए।
उनले वैदेशिक रोजगारीमा गएका धेरै नेपालीले ज्यान गुमाएको, ठूलो ऋणको बोझमा परेको र सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत गम्भीर रूपमा ठगिएकोमा चिन्ता व्यक्त गरे। मन्त्री भण्डारीले पीडितहरूले न्यायका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिँदै जिल्ला, स्थानीय तह वा प्रदेशमै समस्या समाधानको संयन्त्र बनाउनुपर्ने आवश्यकता औँल्याए।
मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै व्यवहारिक कानुनी सुधार, डिजिटल सुरक्षा, ठगी नियन्त्रण र पीडितको न्यायमा सहज पहुँच सुनिश्चित गर्न ऐनमा स्पष्ट व्यवस्था गरिने बताए। अन्तरक्रिया कार्यक्रमबाट आएका सुझावहरूलाई पनि कानुनी सुधारमा समावेश गरिने उनको भनाइ थियो।
श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर ले वैदेशिक रोजगार विभागमा रहेका करिब ३४ हजार मुद्दाहरूलाई प्रक्रियागत रूपमा सही ढंगले काम गरे छिट्टै निरूपण गर्न सकिने बताए। उनले गम्भीर प्रकृतिका मुद्दाहरूलाई प्राथमिकता दिनुपर्ने र सामान्य मुद्दाहरूलाई सहजीकरण मात्र गरेर पनि समाधान निकाल्न सकिनेमा जोड दिए।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई ले विभागमा रहेको ठगीसहितका मुद्दाहरूको शीघ्र न्यायिक निरूपणका लागि आवश्यक नीति अवलम्बन गर्नुपर्ने बताए।