वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारले बजेटलाई ‘पैतृक सम्पत्तिजस्तो’ भागबण्डा गरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधै प्रश्न गरे, ‘थोरै पनि लाज लाग्छ प्रधानमन्त्रीलाई भने रौतहटका जनताको राजस्व फिर्ता गर्नुस्। त्यहाँको जनताको तपाईं प्रधानमन्त्री होइन।’ साहले जनताको पसिनाबाट तिरेको करको समान विनियोजन नभएकोमा आपत्ति जनाए।
‘आज सरकारी बजेट निजीजस्तो भएको छ। जनताले तिरेको कर पसिना हो कि नेताज्यूहरूको पैतृक सम्पत्ति हो भन्ने प्रश्न खडा भएको छ,’ उनले भने, ‘जसरी पैतृक सम्पत्तिलाई परिवारका सदस्यहरूले भागबन्डा गर्छन्, त्यसैगरी नेताज्यूहरूले भागबन्डा गरेर दुरूपयोग गरिरहेका छन्। किन समान वितरण भएन ?’
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट विनियोजनप्रति पनि असन्तुष्टि जनाउँदै हरेक निर्वाचन क्षेत्रले पाउनुपर्ने ९१ करोडभन्दा बढी रकम रौतहटजस्ता क्षेत्रमा किन नपरेको भन्दै प्रश्न गरे। ‘मेरो क्षेत्रको त्यो हक होला नि ? सबै क्षेत्रका जनताको त्यो समान हक होला नि ? किन परेन ? के त्यो क्षेत्रमा सडक आवश्यक छैन ?’ साहको भनाइ थियो।
यसका साथै, साहले काठमाडौंमा मात्र यातायातमा वृद्धवृद्धा र विद्यार्थीलाई छुट दिइएको भन्दै उपत्यकाबाहिरका नागरिकलाई पनि यो सुविधा दिन माग गरे।