वीरगन्ज । बारा जिल्लाको फेटा गाउँपालिकाले आजआफ्नो १६औँ गाउँसभा सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आर्थिक वर्ष २०८२/०८३ का लागि ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँको महत्वाकांक्षी नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।
गाउँसभा बैठकमा बजेट प्रस्तुत गर्दै अध्यक्ष अन्सारीले आगामी वर्षका लागि समावेशी, दिगो विकास र नागरिकमुखी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको बताए। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षा, कृषिको आधुनिकीकरण र रोजगारी सिर्जनालाई बजेटको केन्द्रबिन्दुमा राखिएको जानकारी दिए। अध्यक्ष अन्सारीले गाउँको समग्र विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, अन्य जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले गाउँपालिकाको कार्यसम्पादन, बजेटको पारदर्शिता, योजना कार्यान्वयन र सेवा प्रवाहमा थप सुधारका लागि महत्त्वपूर्ण सुझावहरू दिएका थिए।