ट्रेन्डिङ

श्रमिक सुरक्षा, सम्मान र अधिकार सरकारको सर्वोच्च प्राथमिकता : श्रममन्त्री भण्डारी

वीरगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकहरूको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।

काठमाडौंमा आयोजित ‘श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुपक्षीय सरोकारवाला नीति संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकको हकमा सरकारको सक्रियता र भावी योजना प्रस्तुत गरेका हुन्।

मन्त्री भण्डारीले हालै जेनेभामा सम्पन्न ११३औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी फर्केको जानकारी दिँदै सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय निकायहरूसँग भएका छलफल सकारात्मक रहेको बताए। उनले व्यापार, आप्रवासन र मानवअधिकारबीचको अन्तरसम्बन्धमा जोड दिँदै श्रमिकको मानवअधिकार रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गरे।

‘वैदेशिक रोजगारी आम्दानी मात्र होइन, सम्मान र अधिकारको विषय हो, उनले भने। मन्त्री भण्डारीले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई लिएर आपत्कालीन उद्धारको तयारी भइरहेको जानकारी दिँदै स्थिति थप जटिल भए उद्धारका लागि सरकार तयार रहेको बताए।

साथै, उनले हाल विभिन्न मुलुकहरूमा अवैध रूपमा रहेका सयौँ हजार नेपालीहरूलाई वैध बनाउने पहल भइरहेको र यसमा विशेषगरी महिला श्रमिकको सुरक्षालाई प्राथमिकता दिइएको जानकारी दिए। जलवायु परिवर्तनको प्रभाव श्रम आप्रवासनमा कसरी परिरहेको छ भन्नेमा गहन छलफल आवश्यक रहेको भन्दै मन्त्री भण्डारीले मानवअधिकारको रक्षा र श्रमिकको मर्यादा सुनिश्चित गर्न सरकार कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै