ट्रेन्डिङ

मधेश प्रदेश मिडिया काउन्सिलले पूर्णता पायो, नयाँ सदस्यहरू नियुक्त

जनकपुरधाम । मधेश प्रदेश सरकारले लामो समयदेखि रिक्त रहेका मिडिया काउन्सिलका सदस्य पदहरूमा चार जनालाई नियुक्त गरेसँगै प्रदेश मिडिया काउन्सिलले पूर्णता पाएको छ।

यस नियुक्तिले प्रदेशमा पत्रकारिताको विकास र नियमनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज नियुक्त हुनेहरूमा धनुषाका सुरेश यादव, धनुषाकै रिंकु मिश्र, सर्लाहीकी बन्दना झा र सप्तरीका मन्नु पासमान रहेका छन्। पासमान मधेशसञ्चार डटकमकर्मी हुन् ।

यसअघि मधेश प्रदेश सरकारले काउन्सिलको अध्यक्षमा कमल कुमार उपाध्यायलाई नियुक्त गरेको थियो। तर, हाल उपाध्याय भ्रष्टाचार मुद्दामा मुछिएर निलम्बनमा परेका छन्। यस्तो अवस्थामा काउन्सिलका रिक्त सदस्य पदहरूमा नयाँ नियुक्तिले यस निकायको कार्यसम्पादनलाई गति दिने विश्वास गरिएको छ।

मधेश प्रदेश मिडिया काउन्सिलको मुख्य जिम्मेवारीमा प्रदेशभित्रका सञ्चार माध्यमहरूलाई नियमन गर्ने, पत्रकार आचारसंहिताको पालना गराउने, पत्रकारहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने र सञ्चार माध्यमहरूको स्वतन्त्रतालाई सुनिश्चित गर्ने लगायतका कार्यहरू पर्दछन्। चार जना नयाँ सदस्यको नियुक्तिसँगै काउन्सिलले पूर्णता पाएकोले अब यसका कार्यहरू थप सक्रियताका साथ अगाडि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै