वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटको असमान वितरणप्रति गम्भीर प्रश्न उठाएका छन्।
उनले जनताले तिरेको करको उचित प्रतिफल नपाएको भन्दै नेता र मन्त्रीमुखी बजेटले देशमा अन्याय र अपराध गरिरहेको आरोप लगाए। साहले ‘चोर र लुटेरा नेताहरूबाट मुलुकलाई मुक्त गर्नुपर्ने’ आवश्यकता औँल्याए।
सांसद साहले संसदमा आक्रोशित हुँदै भने, ‘जनताबाट उठेको राजस्वबाट बनेको यो बजेट जनताप्रति उत्तरदायी छैन। यो नेता र मन्त्रीमुखी भयो। नेताजीको क्षेत्रमा पूरै बजेट खन्याइयो, अरू सांसदहरू हेरेको हेर्यैजस्तो भयो।’ उनले बजेट पुस्तिका च्यात्ने सांसद अमरबहादुर थापाको कदमलाई अप्रत्यक्ष समर्थन गर्दै बजेट वितरण प्रणालीमाथि तीव्र असन्तुष्टि पोखे।
साहले नेपाली जनताको रगत–पसिनाबाट बनेको देशको बजेटमा सबैको समान लगानी भए पनि विनियोजनमा भने घोर असमानता देखिएको गुनासो गरे। उनले प्रश्न गरे, ‘एउटा व्यापारीकोमा गएर हामीले पैसा दियौं भने उसले पैसावापत सामान दिन्छ। एउटा मजदुरले कहीँ गएर काम गर्यो भने काम गरेवापतको ज्याला पाउँछ। नेपाली जनताले तिरेको करको चाहीँ रिटर्न चाहिन्छ कि चाहिँदैन ? सबै नेपाली जनताको समान हक हो कि होइन ?’
उनले थपे, ‘यदि समान हक छ भने म सोध्न चाहन्छु– अहिलेको १९ खर्ब ६४ अर्ब रुपैयाँलाई यदि १६५ निर्वाचन क्षेत्रमा बाँडियो भने ११ अर्ब ९० करोड रुपैयाँ हुन्छ। यस्तो अत्याचार किन भयो ? नेपाली जनताले तिरेको कर नेताहरूको भुँडी भर्नलाई हो ? जनताहरू हेरेको हेर्यै हुने नेताजीहरू मालामाल हुने। यो असमानता देखिएको छ। सरकारले न्याय गरिरहेको छ कि अपराध गरिराखेको छ ? नेपाली जनतासँग पैसा लिने, रिटर्न नदिने ?’