वीरगन्ज । जनमत पार्टीले आफ्नो संगठन विस्तारको नीतिका साथ देशभरि सक्रिय युवाहरूलाई आकर्षित गर्दै बलियो जनाधार निर्माणमा जुटेको छ।
हालै वीरगन्ज महानगरपालिका वडा नम्बर १६ (नगवा) मा दुई जना सक्रिय सामाजिक युवाहरूको पार्टी प्रवेशले यस नीतिको प्रभावकारितालाई पुष्टि गरेको छ।
किरण चौरसिया र अनिल यादव, दुवै नगवा युवा समाजका पूर्व अध्यक्ष र सक्रिय सामाजिक व्यक्तित्वहरू हुन्, जसले आज विधिवत् रूपमा जनमत पार्टीको सदस्यता ग्रहण गरेका छन्। उनीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री एवम् जनमतका नेता सतिशकुमार सिंहले पार्टी सदस्यता प्रदान गर्दै जनमतमा स्वागत गरेका छन् ।
उनीहरूको प्रवेशले वडा नम्बर १६ मा पार्टीको संगठनलाई थप सुदृढ बनाउने विश्वास जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले व्यक्त गरेका छन्। ‘सचेत युवाहरू निरन्तर जनमतमा प्रवेश गर्दै हुनुहुन्छ,’ सर्राफले भने, ‘उहाँहरूको पार्टीमा आगमनले जनमत पार्टी वडा नम्बर १६ मा बलियो हुने आशा र विश्वास छ ।’
जनमत पार्टीको संगठन विस्तारको मुख्य नीति युवाहरूलाई पार्टीमा जोड्नु रहेको छ। नयाँ विचार र ऊर्जाका साथ देश विकासमा योगदान गर्न चाहने युवाहरूलाई जनमतले एक प्लेटफर्म प्रदान गरिरहेको छ। पार्टीले विभिन्न सामाजिक कार्य र जनसरोकारका मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ, जसले युवाहरूलाई आकर्षित गरिरहेको नेता सर्राफले बताए ।
स्थानीय स्तरमा बलियो संगठन निर्माण गर्नका लागि पार्टीले वडा तथा गाउँपालिका स्तरमा युवा भेला, प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले जानकारी दिए ।