सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनपुर हटियामा आज बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा एक घरमा आगलागी भएको छ।
आगलागीबाट दुई जना सामान्य घाइते भएका छन् भने करिब २ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
स्थानीय योगेन्द्र साहको घरमा बिहान करिब ६ः३० बजे खाना पकाउने क्रममा सुविधा ग्यास सिलिन्डर विस्फोट भई आगलागी भएको हो। साहले भाडामा लगाएको फुसको छानो र जस्ताले छाएको दुई कोठे घरमा डेरा गरी बस्दै आएका कृष्ण चौधरी र उनकी श्रीमती कञ्चन चौधरी सामान्य घाइते भएका छन्। घाइते दुवैको कञ्चनरुप नगर अस्पतालमा उपचार भइरहेको घरधनी साहले जानकारी दिए।
आगलागीबाट घरमा भण्डारण गरिएका लत्ता-कपडा, जुत्ता-चप्पल लगायतका सामग्री जलेर नष्ट भएका छन्। व्यापारी लक्ष्मण खङ्गको ४० हजार, मजनि देवी खङ्गको ९० हजार, घरधनी योगेन्द्र साहको ७० हजार बराबरको दुई घरसहित सामग्री जलेको छ। यसका साथै, घाइते चौधरीको ४५ हजार रुपैयाँ नगद पनि जलेको बताइएको छ।
स्थानीयबासी र कञ्चनरुप नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।