वीरगन्ज । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा उनीहरूविरुद्ध अभियोगपत्र दायर गरिएको हो।
प्रहरीले सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा करिब एक महिनाअघि नै अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालय पर्सालाई बुझाएको थियो। उक्त प्रतिवेदनको विस्तृत अध्ययनपछि सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
यसअघि, रवि लामिछानेमाथि चितवनको सहकारी ठगी प्रकरण मा पनि मुछिएको आरोप लागेको थियो। यस पटक पर्सामा दर्ता भएको मुद्दाले उनको कानुनी समस्यालाई थप जटिल बनाएको छ।