सिरहा । करिब दुई वर्षअघि सिरहाको धनगढीमाईस्थित गोर्खाज फाइनान्स लिमिटेडमा भएको चोरी, डाँका, शरीर बन्धक तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी श्रीदेव महतोलाई प्रहरीले पक्राउ गरेको छ।
सिरहाको लहान नगरपालिका वडा नं. २० बस्ने ४५ वर्षीय महतोलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष टोलीले जेठ ३१ गते साँझ बरियारपट्टी गाउँपालिका वडा नं. ३ चमार टोलबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाले महतोलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सिरहा जिल्ला अदालतमा पेस गरेको छ।
२०७९ चैत १४ गते राति करिब सवा १२ बजेको समयमा धनगढीमाई नगरपालिका वडा नं. ११ मा रहेको गोर्खाज फाइनान्स लिमिटेडमा डाँकाको समूह प्रवेश गरेको थियो। नकाबधारी उक्त समूहले पेस्तोल र धारिलो हतियार बोकेका थिए। उनीहरूले फाइनान्सको तल्लो तल्लामा बस्दै आएका कर्मचारीहरूलाई हतियार देखाएर ज्यान मार्ने धम्की दिएका थिए।
डाँकाहरूले कर्मचारीहरूलाई कुटपिट गरी नशालु इन्जेक्सन समेत लगाएर नियन्त्रणमा लिई बन्धक बनाएका थिए। त्यसपछि, उनीहरूले माथिल्लो तल्लामा रहेको गोर्खाज फाइनान्सको कार्यालयको झ्याल तथा ग्रिल फोडेर नगद २ लाख ५७ हजार २ सय ७९ रुपैयाँ डाँका गरेका थिए।
सोही क्रममा, उनीहरूले बैंकका कर्मचारीहरूको प्रयोगमा रहेको पोको एक्स थ्री प्रो, रियलमी र सामसङ ग्यालेक्सी जे टु कम्पनीका एकरएक थान मोबाइल समेत लुटेका थिए। डाँका समूहले फाइनान्सको जिन्सी सामानहरू तोडफोड समेत गरी कुल १० लाख २८ हजार ७ सय १४ रुपैयाँ बराबरको सम्पत्ति डाँका तथा तोडफोड गरेको प्रहरीले जनाएको छ।
घटनापश्चात् फरार रहेका महतोलाई प्रहरीले निरन्तर खोजी गरिरहेको थियो। यस गिरफ्तारीसँगै उक्त घटनाको अनुसन्धान थप अगाडि बढ्ने विश्वास गरिएको छ।