वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र अमानवीय र रहस्यमय घटना सार्वजनिक भएको छ।
जेठ ३० गते साँझ करिब ५ बजेको समयमा पर्सागढी नगरपालिका वडा नं. १ स्थित निकुञ्जको भालु खोला फारलाइनमा रहेको जंगली जनावरले पानी पिउने खाल्डोमा अज्ञात व्यक्तिको मानव शरीरका अंगहरू फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी सूचना अनुसार, खाल्डोभित्र एउटा खुट्टा र दुईवटा हात फेला परेको थियो। त्यसैगरी, उक्त खाल्डोबाट करिब ३०० मिटरको दुरीमा एउटा टाउकोको अस्थिपञ्जर पनि फेला परेको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा लासजाँच मुचुल्का कार्य सम्पन्न गरेको छ। फेला परेका मानव शरीरका अंगहरूलाई हाल नारायणी अस्पताल वीरगन्ज, पर्साको शव गृहमा राखिएको छ।
हालसम्म मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले मृतकलाई चिन्ने वा यस घटनाबारे कुनै जानकारी भएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राख्न हार्दिक अनुरोध गरेको छ।