ट्रेन्डिङ

संगठन सुदृढीकरणमा जनमत पार्टी : पर्साका चारै क्षेत्रमा प्रशिक्षण दिने

वीरगन्ज । जनमत पार्टीले आफ्नो संगठन विस्तार र कार्यकर्ता प्रशिक्षणलाई तीव्रता दिँदै पर्सा जिल्लाका चारवटै संघीय निर्वाचन क्षेत्रमा राष्ट्रिय परिषद समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका राष्ट्रिय परिषदका अध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउतको प्रमुख आतिथ्यमा हुने यस कार्यक्रमले पार्टीको नीति, सिद्धान्त र आगामी कार्यदिशाबारे कार्यकर्तालाई प्रशिक्षित गर्ने लक्ष्य राखेको छ।

पार्टीद्वारा जारी तालिका अनुसार, पर्साका विभिन्न स्थानमा दुई दिनसम्म चल्ने यो वृहत् कार्यक्रमको तयारी पूरा भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू, राष्ट्रिय परिषद सदस्यहरू, जिल्ला तथा स्थानीय कमिटीका पदाधिकारीहरू र सक्रिय कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहने जनमत पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

क्षेत्र नम्बर १ का लागि असार ११ गते, बुधबार बिहान ७ बजेदेखि जिल्ला समन्वय समितिको सभाहल, अदालत रोड, वीरगन्जमा प्रशिक्षण राखिएको छ । त्यसैगरी क्षेत्र नम्बर २ का लागि बुधबार ने दिउँसो दुई बजे सोही स्थानमा प्रशिक्षण हुनेछ । क्षेत्र नम्बर १ को कार्यक्रम सकिएलगत्तै सोही दिन, सोही स्थानमा क्षेत्र नम्बर २ का कार्यकर्ता तथा नेताहरूका लागि प्रशिक्षणको व्यवस्था गरिएको नेता सर्राफले जानकारी दिए ।

क्षेत्र नम्बर ३ का लागि विशाल हनुमान मन्दिर धर्मशाला, पोखरिया–९ शिवबर्वामा बिहान ७ बजेदेखि र क्षेत्र नम्बर ४ का लागि सोहि दिन दिउँसो दुई बजेदेखि हनुमान मन्दिर, अस्वारी नहर रोड, धोबिनी गाउँपालिकामा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । पर्साको दक्षिणी भेगमा रहेका कार्यकर्ताहरूलाई समेट्नका लागि धोबिनी गाउँपालिकामा कार्यक्रम आयोजना गरिएको हो ।

पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउतले प्रशिक्षण कार्यक्रममा पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी निर्वाचनका लागि रणनीति निर्माण, जनजीविकाका सवालमा पार्टीको अडान र तराई–मधेशका मुद्दाहरूका बारेमा प्रकाश पार्नेछन् ।

यस कार्यक्रमले जनमत पार्टीलाई स्थानीय स्तरमा थप बलियो बनाउन र जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। जनमत पार्टीले आगामी दिनमा आफ्नो सांगठनिक गतिविधिलाई अझ बढाउँदै लैजाने र राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव बढाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै