सिरहा । जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका महत्वपूर्ण सरकारी कागजातका ठेलीहरू बरामद भएका छन्।
रायलाई बिहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ गरिएपछि प्रहरीले आज उनको कोठामा छापा मारेको थियो। सिरहा नगरपालिका–७ मा भाडामा बस्दै आएका कर्मचारी रायविरुद्ध एक महिलाले शारीरिक सम्बन्ध राखेर मानसिक यातना दिएको भन्दै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरी रायको कोठामा पुगेको थियो।
पक्राउ परेपछि अनुसन्धानको क्रममा आज उनको कोठामा खानतलासी गर्दा मालपोत कार्यालयसँग सम्बन्धित कागजातहरू फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बरामद कागजातमाथि अनुसन्धान प्रक्रिया अगाडि बढेको पुष्टि गरेका छन्।
खानतलासीका क्रममा सँगै रहेका वडा नम्बर ७ का वडाध्यक्ष विनोद यादवले रायको कोठाबाट मालपोत कार्यालयका धेरै ठेलीहरू बरामद भएको जानकारी दिए। उनले सरकारी कागजात यसरी निजी कोठामा राख्न नमिल्ने बताएका छन्। यो घटनाले सरकारी कार्यालयका कागजातको सुरक्षा र कर्मचारीको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ।