वीरगन्ज । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरूको सुरक्षा व्यवस्थामा हेरफेर गरिएको छ।
बिहीबार दिउँसो न्यायाधीश खुशीराम थारुमाथि नेकपा बहुमतका कार्यकर्ताबाट मोसो छ्यापिएपछि अदालतमा कार्यरत १३ जना न्यायाधीशका प्रमुख सुरक्षा अधिकृत (पिएसओ)हरू परिवर्तन गरिएको छ।
पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएअनुसार, मोसो प्रहारको घटनापछि न्यायाधीशहरूको सुरक्षामा खटिएका १३ जना पिएसओ र अदालतको सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोलीलाई फिर्ता बोलाइएको छ।
उपरीक्षक लम्सालले फिर्ता बोलाइएका न्यायाधीशहरूका लागि नयाँ पिएसओ पठाइएको र अदालतको सुरक्षाका लागि पहिले १० जना प्रहरी खटिएकोमा अब १५ जना नयाँ प्रहरी पठाइएको बताए।
योसँगै अदालत प्रवेशमा कडाई गरिएको छ । अदालतमा पुग्ने सेवाग्राही, सर्वसाधारण, कानून व्यवसायीहरुलाई अदालतको मुल गेट मै चेकजाँच गरेर मात्र भित्र प्रवेश गराईँदै छ । यो परिवर्तन न्यायाधीशमाथि भएको आक्रमणपछि सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्ने उद्देश्यले गरिएको हो।