वीरगन्ज । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो २४ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। गएराति सम्पन्न मतगणनामा सुजन कडरियाले अध्यक्ष पदमा जित हासिल गरेका छन्। उनले आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई मात्र ७ मतको झिनो अन्तरले पराजित गर्दै संगठनको नेतृत्व सम्हालेका हुन्।
डा. कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत मात्र पाए। यो चुनावी परिणामले अनेरास्ववियुमा कडरिया प्यानलको वर्चस्व स्थापित गरेको छ। अधिकांश पदाधिकारी पदमा पनि कडरिया प्यानलका उम्मेदवारहरू नै निर्वाचित भएका छन्।
नवनिर्वाचित पदाधिकारीहरूमा महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुलातर्फ विकास श्रेष्ठ विजयी भएका छन्। संगठनको महत्वपूर्ण पद महासचिवमा दीपक धामी निर्वाचित भएका छन्। उपमहासचिवमा भने पौडेल प्यानलका कमल जोशीले जित हासिल गरेका छन्।
त्यसैगरी, चार सचिव पदमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान निर्वाचित भएका छन्।
निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला निर्वाचित भएका छन् भने उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुलीले स्थान बनाएका छन्।
लेखा आयोगको अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत चुनिएका छन्। अनुशासन आयोगको नेतृत्वमा सुमन घिमिरे अध्यक्ष, आकाश गिरी उपाध्यक्ष र स्मृति अधिकारी सचिवमा निर्वाचित भएका छन्।
यस निर्वाचनमार्फत अनेरास्ववियुको १५१ सदस्यीय केन्द्रीय कमिटीसहित विभिन्न आयोगका अध्यक्ष र पदाधिकारीहरू पनि चयन भएका छन्।