ट्रेन्डिङ

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा साढे २ करोडको भ्रष्टाचार : पूर्वअध्यक्षसहित १० जना र ३ कम्पनीमाथि मुद्दा

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडान कार्यक्रममा करिब २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँको अनियमितता भएको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यो घोटाला ‘टुक्रे टेण्डर’ मार्फत गरिएको पाइएको आयोगले जनाएको छ।

अख्तियारले गाउँपालिकाका तत्कालिन अध्यक्ष विक्रम यादवसहित १० जना कर्मचारी र ३ वटा ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका सहायक प्रवक्ता तथा उपसचिव देवीप्रसाद थपलियाका अनुसार, आर्थिक वर्ष २०७८÷०७९ मा सौर्य बत्ती जडानका लागि छुट्याइएको बजेटलाई टुक्रा टुक्रा पारेर खरिद प्रक्रियामा अनियमितता गरिएको थियो।

यसरी टुक्रा पारिएका ठेक्काहरूमा पारदर्शिताको अभाव र आर्थिक हिनामिना भएको आयोगको अनुसन्धानले देखाएको छ।

अख्तियारले मुद्दा दायर गरेका गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूमा तत्कालिन अध्यक्ष विक्रम यादव, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, सहायक पाचौँ (लेखापाल) संजयकुमार ठाकुर, सहायक पाचौँ एवं जिन्स शाखा प्रमुख रामकैलाश राययादव, सब–ईन्जिनियर सन्तोष राय र राजू राय रहेका छन्।

यी सबै प्रतिवादीहरूविरुद्ध जनही २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँको बिगो दाबीसहित जरिवाना माग गरिएको छ।

यसका साथै, अनियमिततामा संलग्न ठेकेदार कम्पनीहरू स्काई राइज ट्रेडिङ कन्सर्न (प्रोप्राइटर जयप्रकाश यादव), एसके स्टोर्स (प्रोप्राइटर रंजुकुमार शाह) र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल (प्रोप्राइटर संगिता कुमारी)लाई पनि प्रतिवादी बनाइएको छ। यी तीनै कम्पनी र तिनका प्रोप्राइटरहरूविरुद्ध जनही ९५ लाख २३ हजार ९१० रुपैयाँ बिगो दाबी तथा जरिवानाको माग गरिएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै