वीरगन्ज । उच्च अदालत, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारुमाथि इजलासमै मोसो प्रहार भएको छ।
धमेन्द्र बासतोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले वीरगन्ज इजलासमा प्रवेश गरी न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन्। उनीहरूले इजलासभित्रै ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए।
मोसो प्रहार गरेलगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। यद्यपि, प्रहरीले अहिलेसम्म उनीहरूको आधिकारिक पहिचान सार्वजनिक गरेको छैन। स्रोतका अनुसार पक्राउ पर्नेमा गमु महतो, पदमबहादुर मगर, र अभिनाष भन्ने किशोर कुम्हाल रहेका छन्।
यो घटना रौतहटको बहुचर्चित राजपुर बम विस्फोट र व्यक्ति हत्या प्रकरणसँग जोडिएको छ। यसअघि, गत जेठ १४ गते जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले सफाइ दिएको थियो। उक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाएको थियो।