वीरगन्ज । नेकपा (एमाले) बहुदरमाई नगर कमिटीको आज सम्पन्न नगर अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनले प्रमोद कुशवाहालाई अध्यक्षमा, सुरेन्द्र यादवलाई उपाध्यक्षमा, अशोक रौनियारलाई सचिवमा, देवतान्द कलवारलाई उप–सचिवमा र सरिता पटेललाई महिला उप–सचिवमा सर्वसम्मत निर्वाचित गरेको छ। साथै, नयाँ कार्यसमितिका सदस्यहरू पनि अधिवेशनबाटै निर्वाचित भएका छन्।
कार्यक्रममा संघीय सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रमुख अतिथि रहेका थिए । उनले नवगठित कार्यसमितिलाई बधाई दिँदै बहुदरमाई नगरको विकास र समृद्धिमा पार्टीको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे ।
यसैगरी, नेकपा एमालेका केन्द्रीय सदस्यहरू अरविन्द सिंह र नेता शिव पटेलको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो। केन्द्रीय सदस्य सिंहले पार्टीलाई ग्रासरुटसम्म पुर्याउन र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन नयाँ नेतृत्वलाई सुझाव दिए । नेता पटेलले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नवनिर्वाचित पदाधिकारीहरूलाई आग्रह गरे ।
अधिवेशनमा सहभागी कार्यकर्ताहरूले नयाँ कार्यसमितिले पार्टीको जनआधार विस्तार गर्न र आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष प्रमोद कुशवाहाले अधिवेशनलाई सम्बोधन गर्दै आफूमाथि विश्वास गरेर सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएकोमा सम्पूर्ण पार्टी सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । उनले बहुदरमाई नगरमा पार्टीको संगठनलाई थप सुदृढ बनाउने, जनताका समस्याहरूलाई प्राथमिकताका साथ उठाउने र नगरको विकास निर्माणका कार्यहरूमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।