ट्रेन्डिङ

सडक दुर्घटना न्यूनीकरणका लागि पर्सामा जनचेतनामूलक ट्राफिक सप्ताह सम्पन्न

वीरगन्ज । सडक अनुशासनको पालना र सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा आयोजित एक हप्ते ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२’ आज भव्य समारोहका बीच सम्पन्न भएको छ।

‘सुरक्षित यात्राका लागि जनचेतना अनिवार्य’ भन्ने मूल सन्देशका साथ सम्पन्न यस सप्ताहव्यापी कार्यक्रमले सडकमा अनुशासन र सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सडकमा भइरहेका दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताहले जनचेतना जगाउन गरेको कार्य प्रशंसनीय रहेको र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन महानगरपालिकाले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख इम्तियाज आलमले ट्राफिक प्रहरीले सडक सुरक्षा र जनचेतनाको क्षेत्रमा देखाएको सक्रिय प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सप्ताहभरि ट्राफिक नियमसम्बन्धी सचेतना र्‍याली, विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम, पर्चा तथा पोस्टर वितरण, मोटरसाइकल चालकलाई हेल्मेट वितरण र सवारी साधन चेकजाँच जस्ता विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले अध्यक्षता गरेको कार्यक्रममा श्री जंग गण वीरगन्जका प्रमुख निराजन कटुवाल, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हरि गौतम, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, सशस्त्र प्रहरी बल १३ नं. गणका प्रमुख एसपी राधेश्याम धिमाल, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै